काठमाडौँ । प्रसूतिको क्रममा काठमाडौँ गोठाटारकी मनिता शर्माको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर गरेको छ । अदालतले बानेश्वरस्थित एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको हो।
उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार अदालतले एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश जारी गरेको हो। श्रीमतीको मृत्यु चिकित्सक र अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै मृतक मनिताका श्रीमान् सुवास पराजुलीले क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा दायर गरेका थिए।
३४ हप्ताकी गर्भवती मनिताले गर्भावस्थाको अवधिभर काठमाडौँ मेडिकल कलेजमा कार्यरत डा.ज्योत्सना शर्मा तिवारीसँग नियमित परीक्षण गराइरहेकी थिइन् । २०८१ मङ्सिर २५ गते पेटको माथिल्लो भाग दुखेर असहज भएपछि डा.शर्माकै सल्लाहमा मनिता उनी ‘पार्टटाइम’ कार्यरत एभरेस्ट अस्पताल पुगेकी थिइन्।
२०८१ मङ्सिर २५ गते दिउँसो २ः १५ बजे अस्पताल पुगेकी मनितालाई तत्काल आकस्मिक कक्ष (इमर्जेन्सी) मा भर्ना गरिएको थियो । सोही दिन साँझ ४ः ३० बजे उनलाई सिजेरियन शल्यक्रियाका लागि अपरेसन थिएटर लगियो र ५ः १५ बजे उनले छोरीलाई जन्म दिइन् । तर, त्यसलगत्तै मनिताको मृत्यु हुन पुग्यो । चिकित्सकले लापरबाही गरेका कारण आफ्नो श्रीमतीको मृत्यु भएको भन्दै मृतक शर्माका श्रीमान् सुवास पराजुलीले उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए।
फैसलाअनुसार मनिता गर्भावस्थाको अवधिभर एभरेस्ट अस्पतालमा कार्यरत डा. ज्योत्सना शर्मा तिवारीको नियमित निगरानीमा उपचार गराइरहेकी थिइन्।



