Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा

सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले नगर प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ । करिब डेढ महिना अध्ययन गरेर समितिले प्रतिवेदन तयार गरेको हो ।

    महानगरको प्रशासन महाशाखा प्रमुख एवं समितिका संयोजक कृष्ण तिवारीको नेतृत्वमा गठित समितिको अध्ययनले बसपार्क क्षेत्रका २३३ परिवारको अन्यत्र पनि जग्गा जमिन रहेको देखाएको छ । छानबिनका क्रममा वडा कार्यालयबाट सिफारिस भएका ५७४ निवेदनमाथि विस्तृत अध्ययन गरिएको थियो ।

    images

    समितिले जिल्ला प्रशासन कार्यालय र भूमि प्रशासन कार्यालयको सरकारी डिजिटल प्रणालीबाट अध्ययन गरेर प्रतिवेदन बनाएको हो । जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत सम्बन्धित व्यक्तिहरूको विवरण भेरिफाइ गरिएको तिवारीले बताए ।

    यही विवरणबाट कतिपय आवेदकहरूको नाममा अन्यत्र जग्गा रहेको भेटिएको हो । ‘हामीले प्रविधिको प्रयोग गरेर यो रिपोर्ट तयार गरेका छौँ । केन्द्रीय स्तरका प्रणालीमै पहुँच राखेर अध्ययन गर्दा केहीको अन्यत्र जग्गा फेला परेको छ,’ उनले भने।

    अध्ययनका क्रममा सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई हटाउनुअघि उचित व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् । उनीहरूले सम्भव भएसम्म वडा नम्बर ९ भित्रै वा पायक पर्ने ठाउँमा व्यवस्थापन प्याकेज ल्याउन अनुरोध गरेका थिए । उनीहरुको मागलाई समेत प्रतिवेदनमा सुझावका रुपमा पेस गरिएको छ ।

    योसँगै महानगरपालिकाले सुकुमबासी व्यवस्थापनका लागि जग्गा खोजी गर्न छुट्टै समिति गठन गरेको छ । समितिले पहिलो चरणमा ६ ठाउँलाई सिफारिस गरेकोमा केही जग्गाहरु अन्य संघ संस्थाको लालपुर्जाभित्र पर्ने भएकोले पुनः सिफारिस गर्न समय थपिएको छ ।

    वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले थप जग्गाको खोजी गरिरहेको जनाएको छ । यस्तै, सिफारिस हुने जग्गाको प्राविधिक पक्ष अध्ययनका लागि इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित अर्को समितिले पनि आफ्नो काम गरिरहेको महानगरले जनाएको छ ।

    यसबाहेक न्यायिक निरुपणका लागि अर्को समिति पनि गठन भएको छ । नगर प्रमुख आचार्यलाई बुझाइएको प्रतिवेदन अब बस्ने महानगर कार्यपालिकाको बैठकमा छलफलका लागि पेस गरिनेछ । कार्यपालिकाले प्रतिवेदनमाथि आवश्यक छलफल गरी स्वामित्व ग्रहण गरेपछि सुकुमबासी व्यवस्थापन तथा बसपार्क क्षेत्रको जग्गा संरक्षणका लागि थप काम अघि बढाइने महानगरले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार