काठमाडौं । सिरहामा एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ ।
संयुक्त विद्यार्थी संगठनको नाममा सार्वजनिक गरिएको प्रचार सामग्रीमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारा समावेश गरिएको छ ।
मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थी माथिको दमन अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो ।



