काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरेको छ।
कन्सुलर सेवा विभागद्वारा विकसित उक्त एप मंगलबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । एपको औपचारिक शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए ।
मन्त्रालयका अनुसार एप सञ्चालनमा आएपछि विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै कन्सुलर सेवा विभाग वा विदेशस्थित नेपाली नियोगमा आफ्ना गुनासा दर्ता गराउन सक्नेछन् ।
यस प्रणालीले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास मन्त्रालयले लिएको छ।
परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई आवश्यक सहायता र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको जनाएको छ।



